उपसभापति अर्यालले भने- अर्को चुनावमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्नेछ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले अर्को चुनावमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन्।
रास्वपाले आयोजना गरेको दुईदिने सांसदहरुको अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दैउनले आगामी दिनहरुमा पार्टीलाई प्रतिपक्षविहीन बनाउने लक्ष्यसहित काम गर्नुपर्ने बताएका हुन् ।
‘अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने सिर्जना अवस्था होस्,’ उनले भने ।
उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सिमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबै नेता–कार्यकर्ता जिम्मेवार ढंगले जुट्नुपर्ने बताए ।
निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनता जित्न बाँकी छन्। हामीले सबै नेपालीलाई अब भने मेरा लागि सरकार छ भनेर महशुस गराउने सरकार निर्माण गरेर डेलिभरी र सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न हामीले काम गर्नुपर्ने छ । यो इतिहास लेख्ने सुर्वण अवसर हो, हामीले यसलाई सदुपयोग गर्न सकेनौँ भने सायदै हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ,’ उनले भने ।
उपसभापति अर्यालले दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभुत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
साथै उनले इतिहास लेख्ने सुनौलो अवसर आएको भन्दै यसलाई सदुपयोग गर्न सबै जिम्मेवार हुनुपर्ने बताए ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार
















