सुदन गुरुङद्वारा चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश, कति खर्चिए ?



काठमाडौं। सुदन गुरुङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोग समक्ष बुझाएका छन्।

आयोग समक्ष प्रस्तुत विवरण अनुसार गुरुङले कुल २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

उक्त विवरणमा प्रचार-प्रसारसम्बन्धी शीर्षकमा सबैभन्दा ठुलो रकम व्यय भएको देखिएको छ। सो शीर्षकअन्तर्गत मात्रै ५ लाख ५२ हजार ५७५ रुपैयाँ खर्च भएको जनाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र-१ मा उम्मेदवार बनेका गुरुङले आफ्ना प्रतिस्पर्धी प्रेम खत्रीलाई पराजित गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेका थिए।

निर्वाचनपश्चात् उनले सांसदका रूपमा प्राप्त हुने पारिश्रमिक तथा सुविधा समेत नलिने सार्वजनिक घोषणा पनि गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

सोहिअनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुले धमाधम आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम जारी रहेको छ।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्