कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते
कञ्चनपुर। कञ्चनपुर कारागारमा रहेका एक कैदीबन्दी घाइते भएका छन् ।
घाइते हुनेमा वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गर्दा विष्ट घाइते भएका हुन् ।
घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ ।
घाइते विष्टले कारागारभित्रै लागुऔषधको कारोबार भइरहेको खबर नाइकेलाई दिँदा आफूमाथि आक्रमण भएको बताएका छन् ।
प्रहरीका अनुसार दुवै कैदीबन्दी लागुऔषध मुद्धामा कारागार चलान भएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















