लिपुलेकबारे गोकुल बास्कोटाको टिप्पणी: नक्सा हाम्रो, नियन्त्रण अरूकै
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली पक्षको विरोधलाई बेवास्ता गर्दै भारत र चीनले गरेको घोषणाप्रति निराशा प्रकट गरेका छन् ।
भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको लिपुलेक भञ्ज्याङबाट भारत–चीनले सन् २०१९ देखि बन्द रहेको यो व्यापारिक नाका सन् २०२६ को व्यापारिक सिजनका लागि पुनः खुलाउने घोषणा गरेका छन् ।
पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र हुँदै भारत–चीन व्यापार मार्ग आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले निराशा प्रकट गरेका हुन् ।
आइतबार उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बिस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो । यस्तै हो-शक्ति र समयको संयुक्त प्रहार !’
उता, भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्राचार गर्दै हिमाली नाकाबाट व्यापार पुनः सुचारु गर्न अनुरोध गरेका छन् । गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले समेत यसका लागि अनुमति दिइसकेका छन् ।
तर, लिपुलेक भञ्ज्याङको विषय नेपालका लागि संवेदनशील रहँदै आएको छ। नेपालले उक्त क्षेत्रलाई आफ्नो भूभागको रूपमा दाबी गर्दै आधिकारिक नक्सामा समेत समावेश गरिसकेको छ।
यद्यपि, लिपुलेकबारे पटक-पटक नेपालको विरोधलाई बेवास्ता गर्दै भारत र चीनले उक्त मार्गलाई द्विपक्षीय व्यापारिक नाका रूपमा प्रयोग गर्दै आएका छन् । जसले नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्धमा बेलाबेला कूटनीतिक बहस निम्त्याउँदै आएको छ ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















