नवनिर्वाचित सांसद सागर ढकालद्वारा चुनावी खर्च विवरण सार्वजनिक, कति खर्चिए ?
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सागर ढकालले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत आय र खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।
प्राप्त विवरणअनुसार निर्वाचन अभियानका लागि विभिन्न स्रोतबाट कुल २२ लाख १ हजार ४ सय रुपैयाँ संकलन भएको थियो। उक्त रकम चुनावी प्रचार-प्रसार तथा अन्य सम्बन्धित गतिविधिमा प्रयोग गरिएकोमा कुल खर्च १९ लाख १८ हजार १८२ रुपैयाँ रहेको उल्लेख गरिएको छ।
ढकालको सबैभन्दा बढी खर्च कार्यालय सञ्चालनका लागि गरेको देखाइएको छ । जसअनुसार उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका ५० वटा वडामा १३ हजार रुपैयाँका दरले खर्च गर्दा ६ लाख ५० हजार रुपैयाँ खर्च गरेका हुन् ।
त्यस्तै ७ वटा पालिकामा बुथ प्रतिनिधि परिचालनका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च गरेको विवरण देखाइएको छ ।
सवारीसाधन तथा इन्धन खर्च ३ लाख १ हजार ९ सय ७२ रुपैयाँ, खाना खाजा तथा अस्थायी बसोबासका लािग १ लाख ८६ हजार ३ सय ४० रुपैयाँ खर्च भएको ढकालले बताएका छन् । सञ्चार अन्तर्गत प्रचारप्रसारका लागि १ लाख ४० हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।
आय र व्ययको हिसाब मिलाउँदा २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको देखिन्छ। ढकालले उक्त बाँकी रकम व्यक्तिगत उपयोगमा नलगाई सम्बन्धित क्षेत्रको विकास तथा राष्ट्रिय हितका विभिन्न कार्यक्रमहरूमा उपयोग गर्ने घोषणा गरेका छन्।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार
















