बर्दियामा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा १० जना घाइते
सन्दिप कुमार बैश्य
गुलरिया । बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
लागु औषध कारोबारविरुद्ध प्रदर्शन गर्दै स्थानीयले अवरुद्ध पारेको नेपालगन्ज–गुलरिया सडक खण्ड खुलाउन पुगेको प्रहरी र स्थानीयबिच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक(एसपी) प्रमेश विष्टका अनुसार गुलरिया नगरपालिका–११, गणेशपुरमा भएको सो झडपमा केही स्थानीय र १० जना सुरक्षाकर्मी घाइते भएका हुन्।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको एसपी विष्टले जानकारी दिए।
झडपमा नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका तीन जना गरी १० जना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर छ । उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ ।
लागु औषधको ‘ओभरडोज’ का कारण स्थानीय दुई युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सीमा नाका बन्द गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए ।
लागु औषधको ‘ओभरडोज’ का कारण गुलरिया–११ का सुरेश खटिक र बोहरन खटिक रहेका हु्न्। एसपीले युवाको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने जानकारी दिए ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार
















