राज्य आतङ्कतर्फ उन्मुख भएको एमालेको निष्कर्ष, यस्ता छन् बाँकी निर्णय
काठमाडौं। नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ।
अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमा दमन भएकोमा घोर आपत्ति जनाउँदै संसदीय दलको बैठक आह्वान गरेको हो ।
पार्टी सचिवालयको मंगलबार बसेको बैठकले बुधबार दिउँसो ३ बजेका लागि उक्त बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
जसअनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमै आयोजना हुनेछ।
सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि छलफल र सहकार्य अघि बढाउने निर्णय गरेको छ।
यस कार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याल लाई जिम्मेवारी तोकिएको छ।
यसैगरी बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई सर्वपक्षीय नागरिक संवादको जिम्मेवारी दिएको बताए।
यसअघि एमालेले ओलीको रिहाइको मागसहित देशव्यापी विरोध कार्यक्रमसमेत घोषणा गरिसकेको छ।
साथै बैठकले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भए लगत्तै थालिएको धरपकडले राज्य आतङ्कतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ।
यस्ता छन् बाँकी निर्णय:
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
६. सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार
















