पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, चैत्र १९ । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभरको मौसम फेरबदल भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली देखिएको छ ।

आज दिउँसो पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने भए तापनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेकाले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्क रहन भनिएको छ ।

त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने र बाँकी पहाडी तथा तराई भेगमा भने मौसम सफा रहने छ ।

विशेष गरी गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्