संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, चैत्र १९ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ ।

बैठकको प्रारम्भमा जेष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको विवरण पनि प्रस्तुत गरिने छ ।

यसैगरी, प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारबाही सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरी स्वीकृत गरिनेछ । सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयनसमेत गरिने कार्यसूचीमा उल्लेख छ ।

अधिवेशन प्रारम्भको अवसरमा विभिन्न दलका सांसदहरूले आ(आफ्नो मन्तव्य राख्ने कार्यक्रम पनि तय गरिएको छ । साथै, प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने तयारी रहेको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन)अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्