काठमाडौंमा वैशाख १ बाट रात्रिकालीन साझा बस चल्ने
काठमाडौं, चैत्र २० । काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्ने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा बस सेवा सञ्चालन गर्न लागेको हो ।
यो सेवा अन्तर्गत लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर, कान्ति, टिचिङ, गंगालाल हृदयकेन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । जुन उत्तर–दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।
थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघरमण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।
राति ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सुरक्षाका लागि नगर प्रहरी हुनेछन् । बसमा सीसीटीभी क्यामरा पनि जडान हुनेछन् ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार
















