उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ।
पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी दिएका हुन्।
;सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९ ?,’ उनले लेखेका छन्।
उनले उम्मेदवारी दिन पाउने हाम्रो अधिकार भएको र मत हाल्नु नहाल्नु त्यो सांसदहरुको अधिकार भएको बताए।
प्रतिनिधि सभाको सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डिपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्।
शुक्रबार उम्मेदवारी दर्ता गर्ने दिनमा उनको मात्रै उम्मेदवारी परेको थियो।
आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए।
उक्त प्रस्तावमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री रसहरी विकासमन्त्री सुनिल लम्साललगायतले समर्थन जनाएका थिए ।
बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
उपसभामुख भने विपक्षी दललाई दिइने अभ्यास छ। योसंगै नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि सोहि संदर्भमा शनिबार रास्वपाका सभापति रवि लामिछानेसंग निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार
















