राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित



काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्।

सोमबार बसेको बैठकमा अध्यक्ष नारायण दाहालले भण्डारीको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।
रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवारी दिन आइतबार २ः३० देखि ३ः३० बजेसम्मको समय दिइएको थियो ।

मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल थिए ।

यस्तै, समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए ।

प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि संसदको माथिल्लो सदन राष्ट्रियसभामा भने प्रतिनिधित्व छैन्। सोहि कारण चुनावमा बढारिएका कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभामा सहमतिका साथ अघि बढ्ने निर्णय गरेका थिए ।

जसअनुसार दलहरुले एमालेकी भण्डारीलाई अघि बढाउने सहमति भएको थियो ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्