योगेश भट्टराईको व्यंग्यात्मक कविता: बादल मडारियो, मुसलधारे वर्षा भयो, हामी हेरेको हेर्यै
काठमाडौं । एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिका कारण आन्तरिक विवाद भइरहेका बेला उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेखेका छन् ।
उपमहासचिव भट्टराईले बादलको अभिव्यक्तिप्रति सङ्केत गर्दै ‘बादल मडारिएको र जबज निथ्रुक्कै भिजेको’टिप्पणी गर्दै व्यंग्यात्मक शैलीमा कविता लेखेका हुन् ।
उपमहासचिव भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमा बादलका विषयमा ‘छोटकरी कविता’लेख्दै भनेका छन्-
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ ?
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)
गत फागुन २१ को कमजोर निर्वाचन परिणाम र पार्टी पुनर्गठनको मुद्दा चर्किँदै गएका बेला पार्टीका शीर्ष नेताहरू एकपछि अर्को गर्दै आरोप-प्रत्यारोपमा उत्रेका छन् ।
गत साता एमाले कार्यवाहाक अध्यक्ष तथा संसदीय दलका नेता ‘बादल’ले प्रतिनिधि सभाको पहिलो बैठकमा ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेताहरू सुरेन्द्र पाण्डे लगायतले आपत्ति जनाएका थिए ।
बादलले दिएको अभिव्यक्तिबारे भोलिपल्ट शुक्रबार बसेको एमाले सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल गरेको थियो।
त्यसलगत्तै चैत २० गते शुक्रबार एमाले सचिवालय बैठक बसेर चुनावी परिणाम स्वीकार गर्ने र नेपाली सेना व्युरोक्रेसी लगायतलाई पार्टीले हेर्ने दृष्टिकोणमा कुनै बदलाव नआएको प्रस्ट पारेको थियो ।
तर बादल अझै पनि सच्चिएका छैनन्।
बुधबार मात्रै पनि बादलले पोखरामा आफूले संसद्मा दिएको अभिव्यक्ति पार्टी नीति र निर्णय अनुसार नै भएको दोहोर्याएका थिए।
साथै बालेन्द्र शाह नेतृत्वको सरकारलाई बारबरा सरकारको उपमा दिँदै पश्चिमा शक्तिहरूले नै यो सरकार निर्माण गरेको गम्भीर आरोप लगाएका छन्।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार
















