ओली-लेखक पक्राउको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो: शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।
ओली र लेखकलाई हाजिरी जमानीमा रिहा गरिएपछि पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सरकारी कदममाथि प्रश्न उठाएका हुन् ।
‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्यो-यसले धेरै प्रश्न उठाएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।
उनका अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा गरिएको गिरफ्तारी १० दिनसम्म पनि ठोस कारणसहित स्थापित हुन सकेन ।
उक्त प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएको भन्दै उनले ओली र लेखकको पक्राउलाई गैरकानुनी प्रकृतिको बताएका छन् ।
उनले अन्ततः हाजिरी जमानीको उपाय अपनाउनु परेको अवस्थाले समग्र प्रक्रियामाथि थप जिज्ञासा सिर्जना गरेको पनि उल्लेख गरेका छन् ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार
















