सरकारले १३ दिनसम्म गैरकानूनी रुपमा नियन्त्रणमा राखेको ओलीको आरोप



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानूनी नियन्त्रणमा राखेको बताएका छन् ।

१३ दिनपछि हाजिरी जमानीमा रिहा भएका ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको पनि बताएका छन् ।

उनले भनेका छन्–‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानूनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानून व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

ओलीले आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचार खर्च राज्यले बेहोर्नु पर्ने माग गरेका छन् ।

घाइतेको उपचारमा राज्य उदासीन भए पार्टीले खर्च बेहोर्ने पनि उनले जानकारी गराएका छन् ।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराएका ओली भादौं २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्