आशा भोस्ले अस्पताल भर्ना, के भयो उनलाई?
भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना भएकी छन्। मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षीया भोस्लेको हाल अस्पतालको इमर्जेन्सी मेडिकल सर्भिसेज युनिटमा उपचार भइरहेको छ।
भोस्ले फोक्सोको समस्या र उमेरजन्य अन्य स्वास्थ्य जटिलताबाट पनि गुज्रिरहेकी रहेको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन्। उनी पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्।
८ सेप्टेम्बर १९३३ मा जन्मिएकी भोस्लेले सन् १९४३ मा १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेकी थिइन्। उनले ९० वर्षको उमेरसम्म निरन्तर गायन क्षेत्रमा सक्रिय योगदान दिइन्।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार







