भिरबाट लडेर महिलाको मृत्यु



मकवानपुर, २९ चैत। मकवानपुरको भीमफेदी गाउँपालिका ६, सिमलटारमा भिरबाट लडेर महिलाको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयाका प्रवक्ता (डीएसपी) पुष्कर बोगटीका अनुसार घाँस काट्ने क्रममा भिरबाट लडेर हेटौँडा उपमहानगरपालिका १४ नयाँबस्ती टोल निवासी नरेन्द्र मोक्तानकी श्रीमती ३५ वर्षीया सन्तोषी वाइवाको मृत्यु भएको हो।

शनिबार माइत भीमफेदी ६ सिमलटार गएकी सन्तोषी माइतीघरबाट करिब २ सय मिटर दक्षिणतर्फ रहेको खहरे खोलामा घाँस काट्न डोको लिएर निस्किएकी थिइन्।

तर लामो समयसम्म घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा उनी सोही स्थानको भिरबाट करिब ५०र६० मिटर तल लडेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।

उपचारका लागि शनिबार दिउँसो १२:४० बजे हेटौँडा अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ५ सय मिटर दक्षिणमा पर्छ।

कानुनी प्रक्रिया पूरा गरी शनिबारै साँझ ६ बजे मृतकका श्रीमान्‌लाई शव जिम्मा लगाइएको डीएसपी बोगटीले बताए।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्