ढल्केबरको रिफाइनरी इण्डष्ट्रिजमा आगो लाग्दा १५ करोडको क्षति



ढल्केबर, वैशाख ४ गते । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति भीषण आगलागी भएको छ । राति करिब १० बजे उद्योगमा आगलागी हुँदा प्रारम्भिक अनुमानअनुसार करिब १५ करोड रुपियाँ बराबरको क्षति भएको उद्योगका प्रबन्धक सन्जय गुप्ताले जानकारी दिए।

जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट खटिएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको उनले बताए।

आगलागीका कारण उद्योगमा रहेका स्टिम र थर्मोफुल गरी ेदुईवटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको प्रबन्धक गुप्ताले जानकारी दिए। दुवै प्रसोधन मेसिन पूर्णरूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्, त्यस हिसाबले पनि करिब १५ करोड रुपियाँ बराबरको क्षति भएको उनको भनाइ छ । उनका अनुसार क्षतिको यकिन विवरण सङ्कलन गर्न अझै दुई-तीन दिन लाग्नेछ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्