दलको नेताबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।
संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।
छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।
यसअघि संयोजक रसाइलीले आजकै दिन कांग्रेसले दलको नेता चयन गर्ने कार्यतालिका रहेको र चैत २ मै निर्वाचन कार्यतालिका प्रकाशित हुने जानकारी गराएका थिए ।
तर, कांग्रेसले हालसम्म निर्वाचन कार्यतालिका ल्याएको छैन ।
गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राईलगायतको दाबेदारी रहेको छ।
संसदमा प्रतिनिधित्व भएका रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसकेका छन् भने एमालेले रामबहादुर थापा बादललाई दलको नेता चुनिसकेको छ। नेकपाले पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपामा ज्ञानेन्द्र शाही दलको नेता चयन भएका छन्।
प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत रहने व्यवस्थाका कारण कांग्रेसमा दलको नेता चयन पेचिलो देखिन्छ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार
















