फेसबुकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिने युवक पक्राउ
काठमाडौं । सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङ थलरा गाउँपालिका–४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्ट रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजनलाई सोमबार राती काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार साजनले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न माग गरेका थिए । माग पूरा नभए प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्ने चेतावनी दिँदै काठमाडौंमा ‘एके–४७’ जस्ता हतियार भित्रिएको दाबी गरिएको ज्यान मार्ने धम्कीपूर्ण भिडियोसमेत सार्वजनिक गरेका थिए ।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीकाअनुसार विष्ट विगत पाँच वर्षदेखि बैंगलोर, भारतमा बस्दै आएका थिए । उनी त्यहाँ एमजी रोडस्थित एक फेन्सी स्टोरमा काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार भारतमा रहँदा पनि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साजनालाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार
















