रुस र उत्तर कोरियाबिच ‘दीर्घकालीन’ सैन्य सहकार्य गर्ने सहमति



रुस र उत्तर कोरियाबिच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति भएको रुसको रक्षा मन्त्रालयले आइतबार जनाएको छ।प्योङयाङले युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकका साथै क्षेप्यास्त्र र युद्ध सामग्री पठाएको छ।

त्यसको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहयोग, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा प्राप्त गरिरहेको विश्लेषकहरूले बताएका छन्।

दुई देशले सन् २०२४ मा एक सैन्य सन्धिमा हस्ताक्षर गरेका थिए, जसमा दुवै देशले एक अर्कामाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ बिना’ सैन्य सहायता प्रदान गर्न बाध्य पार्ने सहमति भएको थियो।

रुसका रक्षामन्त्री आन्द्रे बेलौसोभले भने, ‘हामी उत्तर कोरियाको रक्षा मन्त्रालयसँग हाम्रो सैन्य सहकार्यलाई निरन्तर र दीर्घकालीन रूपमा राख्न सहमत भएका छौँ।’

उनले थपे, ‘हामी सन् २०२७ देखि सन् २०३१ को अवधिका लागि रुसी–कोरियाली सैन्य सहयोगका लागि यो वर्ष एउटा योजनामा हस्ताक्षर गर्न तयार छौँ।’

युक्रेनविरुद्ध मस्कोको युद्धमा सहयोग गर्ने क्रममा मारिएकाहरूको सम्मानमा एक स्मारक कम्प्लेक्सको उद्घाटन समारोहमा रुसी अधिकारीहरू प्योङयाङमा भेला भएका छन्।

बेलौसोभले आइतबार उत्तर कोरियाली नेता किम जोङ उन र रक्षामन्त्री नो क्वाङ चोलसँग भेट गरेका थिए भने रुसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनले पनि उत्तर कोरियाली नेता किमलाई भेटेर कुर्सको युद्धमा उत्तर कोरियाली सेनाको भूमिकाका लागि धन्यवाद दिएका थिए।

प्योङयाङले रुसको पश्चिमी कुस्र्क क्षेत्रमा किएभका सेनाको महिनौँ लामो प्रत्याक्रमण रोक्न सेना तैनाथ गरेको छ।

बेलौसोभले कुर्स्क अपरेसनमा भाग लिएका उत्तर कोरियाली सैनिकलाई सैन्य पुरस्कार प्रदान गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

‘कोरियाली सैनिकहरूले हाम्रा सैनिक र अधिकारीहरूसँग काँधमा काँध मिलाएर लडे र रुसी भूमिलाई युक्रेनी नाजीहरूबाट मुक्त गरे’, भोलोडिनले भने।

सोलका अनुसार युक्रेनसँगको युद्धमा करिब दुईहजार उत्तर कोरियाली मारिएका छन् भने उत्तर कोरियाली सैनिकलाई युद्धमा पक्राउ पर्नुको साटो आत्महत्या गर्न निर्देशन दिइएको बताइएको छ।

केवल दुई उत्तर कोरियाली सैनिकहरू जिउँदै पक्राउ परेका छन् र हाल युक्रेनी अधिकारीहरूको हिरासतमा छन्।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्