आज काठमाडौं आइपुग्ने ट्रम्पका विशेष दूत गोरसँग बालेनको भेट होला ?



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् ।

राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेष दूत सर्जिओ गोर आज साँझ काठमाडौं ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् । उनी हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा पनि कार्यरत छन् ।

ट्रम्पका निकट सहयोगी मानिने उनलाई भारतका लागि राजदूतसँगै दक्षिण तथा मध्य एशियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ ।

गोरको हैसियत ७ वैशाखमा काठमाडौं आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरभन्दा उच्च मानिन्छ ।

पहिलोपटक काठमाडौं आउन लागेका गोरको नेपाल भ्रमण मुख्यतः व्यवसाय, लगानी र दुई देशका सरकारबीच सम्बन्ध विस्तार लगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

गोरले नेपाल बसाइको क्रममा राजनीतिक भेटघाट गर्ने भनिए पनि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई भने भेट्ने÷नभेट्ने निश्चित भइसकेको छैन ।

पछिल्ला वर्षहरूमा नेपाल भ्रमणमा आउने अधिकांश विदेशी कूटनीतिज्ञहरुले प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेका थिए । तर बालेन शाह नेतृत्वको वर्तमान सरकारमा सो अभ्यास बदलिँदै गएको देखिन्छ ।

यसअघि नेपाल भ्रमण गरेका अमेरिकी सहायक विदेश मन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछाने र सरकारका वरिष्ठ मन्त्रीहरुलाई भेटेका थिए । तर, उनलाई प्रधानमन्त्री बालेन शाहले औपचारिक भेट दिएनन् ।

गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भने भेट्ने निश्चित भइसकेको छ । बिहीबार दुई मन्त्रीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

गोर सगरमाथा आधार शिविर जाने कार्यक्रम पनि तय भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्