सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसदसँग गुन्डुमा छलफल गर्दै ओली
काठमाडौँ, २३ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सबै एमाले सांसदहरूलाई छलफलका लागि गुण्डु डाकेका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग आज ११ बजे गुण्डुमा गहन छलफल गर्ने भएका छन् ।
प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए । ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अगाडि बढ्नुपर्ने सङ्केत दिएका थिए ।
आज ११ बजे संसदीय दलको नेताको विषयमा छलफल हुने एमालेका एक सांसदले जानकारी दिए । उनका अनुसार दलको नेता परिवर्तन हुने वा नहुने भन्ने विषय अहिले नै टुङ्गो लागिसकेको छैन ।
‘दलको नेता फेर्नुपर्छ भन्दै तीन जना सांसदहरूले केही समयअघि महासचिव र अध्यक्षलगायतका नेताहरूलाई भेटिरहेका थिए । आज त्यो विषयमा पनि छलफल हुनेछ,’ उनले भने, ‘तर दलको नेता फेरिहाल्ने भन्ने टुङ्गो भने भइसकेको छैन ।’
ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन् । उपनेता रहेकी सन्तोष शर्मा थापा आफू दलको नेता बन्नुपर्ने बताउँछिन् । उता प्रमुख सचेतक चक्र मल्ल पनि दलको नेताको दौडमा छन् ।
सामाजिक विकास समितिका सभापति धर्म पाठक र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि नेतृत्वले जिम्मेवारी दिएको अवस्थामा दलको नेता बन्न पछि नपर्ने बताउँछन् ।
‘अहिले दलको नेता हटाएर कसलाई बनाउने भन्ने विषयमा ठ्याक्कै कुरा भएको छैन। त्यसैले आज त्यो विषयमा मात्रै छलफल हुँदैन,’ एमालेका एक नेताले भने, ‘अन्य दुई एजेन्डामा पनि अध्यक्ष कमरेडले छलफल गर्ने बताउनुभएको छ ।’
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार
















