प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेका बेला कमल थापा भन्छन् – दशकौँ पुरानो सेटिङ भत्काउनैपर्छ
काठमाडौं । राप्रपा नेता कमल थापाले राज्यका संवैधानिक तथा प्रशासनिक नियुक्तिमा हुँदै आएको कथित ‘वरीयता’ र भागबण्डाको राजनीतिक संस्कृतिमाथि प्रहार गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले पार्टीगत भागबण्डाका आधारमा वर्षौंदेखि बनाइएको ‘सेटिङ’ अन्त्य हुनुपर्ने बताएका हुन् ।
उनले लामो समयदेखि सीमित राजनीतिक सहमतिका आधारमा तयार गरिएको संरचनालाई निरन्तरता दिन खोज्नु गलत भएको उल्लेख गर्दै त्यसलाई पुरस्कृत गर्न नहुने धारणा राखे ।
थापाले लेखेका छन्, ‘कथित वरीयताको नाउँमा भागबण्डाको आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनु जरुरी छ। पार्टीगत भागबण्डाको आधारमा एक दशकभन्दा लामो समयको निम्ति तयार गरिएको सेटिङलाई पुरस्कृत गरिनु हुँदैन।’
उनले यस्तो कदमलाई संविधानविपरीत भनेर व्याख्या गर्नु गलत हुने दाबी गरेका छन् । संविधानले दिएको अधिकार प्रयोग गरेर राज्य संयन्त्रभित्र देखिएको विकृति सच्याउने प्रयास भइरहेको उनको भनाइ छ।
‘यो संविधानको उल्लङ्घन होइन, संविधानले नै दिएको अधिकार प्रयोग गरेर विकृतिको शुद्धीकरण गर्ने प्रयास हो,’ थापाले उल्लेख गरेका छन् ।
आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने तयारी गरेको छ । सोही क्रममा थापाले धारणा सार्वजनिक गरेका हुन् । हाल प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार
















