एमालेलाई पुनर्जीवित गर्न नयाँ सोच र डिजिटल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे



रुपन्देही, २० जेठ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच, कार्यशैली र डिजिटल रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै व्यापक सङ्गठनात्मक पुनर्संरचना र प्रविधिमैत्री प्रणालीको विकासमा जोड दिए। बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

पाण्डेले पार्टीको खस्किँदो चुनावी नतिजाले नेतृत्व र सङ्गठन दुवैलाई गम्भीर आत्मसमीक्षाको आवश्यकता रहेको बताए। विगतमा बलियो संसदीय उपस्थितिसहित रहेको एमाले अहिले अपेक्षाअनुसारको अवस्थामा नरहेको उल्लेख गर्दै उनले पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली अपरिहार्य रहेको धारणा राखे।

कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्यको सङ्ख्याभन्दा कम मत प्राप्त भएको अवस्था देखिएकाले सदस्यता वितरणदेखि वडा तहदेखि केन्द्रसम्मका कमिटी निर्माण प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। यसले सङ्गठनभित्र रहेका कमजोरी उजागर गरेको उनको भनाइ थियो।

उनले अबको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिको भएको उल्लेख गर्दै एमालेलाई परम्परागत भौतिक संरचनाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए। पुरानो शैलीका सङ्गठनात्मक गतिविधिले मात्र अबको राजनीतिक प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने भन्दै उनले प्रविधिमैत्री पार्टी निर्माणमा जोड दिए।

समाज निरन्तर परिवर्तनशील रहेको र त्यसअनुसार पार्टीका विचार, नेतृत्व विकासको शैली तथा सङ्गठनात्मक संस्कृतिमा पनि समयानुकूल सुधार आवश्यक पर्ने उनको भनाइ थियो। मदन भण्डारीको समयदेखि अहिलेसम्म विश्व र समाजमा ठूलो परिवर्तन आइसकेकाले पार्टीले पनि आफूलाई बदल्नुपर्ने उनले बताए।

वर्तमान अवस्थाबाट यथास्थितिमै पार्टी आन्दोलन अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले सङ्गठनात्मक सुधारका लागि अध्ययन तथा सुझाव सङ्कलन गर्न कार्यदलले काम गरिरहेको जानकारी दिए।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार