भारतबाट उद्धार गरिएका नेपालीको प्रकरणमा पाँच जनाविरुद्ध ठगी मुद्दा



रुपन्देही, २० जेठ । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट गत शनिबार उद्धार गरिएका ४ सय ५३ जना नेपालीसँग सम्बन्धित ठगी प्रकरणमा रुपन्देही प्रहरीले पाँच जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएको भन्दै प्रहरीले ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

उनीहरूमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी दिनेश कुँवरले जानकारी दिए।

प्रहरीका अनुसार डोटीको शिखर नगरपालिका निवासी २३ वर्षीय सिताराम बोहरा, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका निवासी ३० वर्षीय अनिल बुढाथोकी, डोल्पाको ठुलीभेरी नगरपालिका निवासी २१ वर्षीय दिनेश बुढा, रोल्पाको मुड्केचुला गाउँपालिका निवासी २३ वर्षीय अमनलाल बुढा तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका निवासी ४५ वर्षीय कमल गिरीविरुद्ध ठगीको अभियोगमा अनुसन्धान अघि बढाइएको हो।

उद्धार गरिएका नेपाली नागरिकले आफूहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारतका विभिन्न स्थानमा पुर्‍याइएको तर सम्झौताअनुसारको काम तथा सुविधा नपाएको गुनासो गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार