प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध राष्ट्रिय सभामा निरन्तर अवरोध, बैठक पुनः स्थगित
काठमाडौँ, २० जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको आजको बैठक पनि स्थगित भएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले “मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले राष्ट्रिय सभामा लगातार अवरोध गर्दै आएका छन्।
आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए।
बैठकमा नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा अपरिपक्व, गैरजिम्मेवार र तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै राष्ट्रहितविपरीत कार्य गरेको भन्दै क्षमायाचना गर्नुपर्ने बताए।
उनले राष्ट्रिय हितसँग जोडिएको विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि नरहेको उल्लेख गर्दै नेपाल–भारत द्विपक्षीय सीमाको विषयमा तेस्रो पक्षलाई समावेश गर्नु नेपालको हितमा नहुने र यसले अनावश्यक तनाव सिर्जना गर्न सक्ने धारणा राखे।
नेपाल कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री शाहले नेपालको हितविपरीत अभिव्यक्ति दिएर भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच पुर्याउने काम गरेको आरोप लगाउँदै राजीनामाको माग गरे।
यस्तै नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रियता र जिम्मेवार पदको मर्यादाविपरीत रहेको भन्दै पदमा बसिरहने नैतिक आधार समाप्त भएको दाबी गर्दै राजीनामा माग गरिन्।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले एउटै विषयमा लामो समय केन्द्रित हुनुभन्दा कार्यसूचीमा रहेका विधेयकलाई अघि बढाउन तथा राष्ट्रिय सभाको गरिमा कायम राख्न सांसदहरूलाई आग्रह गरे।
उनले राष्ट्रिय सभा राष्ट्रहितका पक्षमा सरकार र प्रतिनिधिसभालाई समेत सुझाव दिने संस्था भएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति, सांसदहरूको धारणा तथा देशमा उत्पन्न परिस्थितिलाई सम्हाल्दै सदनलाई अघि बढाउनुपर्ने बताए।
अध्यक्ष दाहालले कार्यसूचीमा रहेको वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथिको प्रक्रिया अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो।
यसअघि पनि राष्ट्रिय सभाका लगातार दुई बैठक कार्यसूचीमा प्रवेश नै गर्न नसकी स्थगित भएका थिए।
राष्ट्रिय सभाको अर्को बैठक जेठ २६ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







