सञ्चार क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, २० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार बसेको विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले जनतालाई सचेत र शिक्षित बनाउनु मिडियाको प्रमुख जिम्मेवारी रहेकाले लोककल्याणकारी विज्ञापनको प्रभावकारी नियमन आवश्यक रहेको बताए।
उनले पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्दै आवश्यकताअनुसार नयाँ कानुनी सुधारलाई प्राथमिकता दिइने उल्लेख गरे। संसद्लाई प्रभावकारी कानुन निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सञ्चार तथा सूचना क्षेत्रका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ सुदृढ बनाउन व्यवस्थित संयन्त्र तथा एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताए।
बैठकमा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले सञ्चार तथा सूचना क्षेत्रसँग सम्बन्धित निकायहरूको विषयगत समस्याबारे एकीकृत जानकारी आवश्यक रहेको बताइन्। उनले प्रदेश र स्थानीय तहको बजेट विनियोजनमा सञ्चार तथा सूचना क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
विभिन्न प्रदेशबाट सहभागी सरोकारवालाहरूले सामाजिक सञ्जाल तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसँगै बढ्दो भ्रामक सूचना र साइबर अपराध नियन्त्रणका लागि नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राखे।
उनीहरूले प्रेस पास वितरणलाई आधिकारिक निकायमार्फत सरल, व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा समेत जोड दिए।
बैठकमा विभिन्न विभाग तथा निकायका प्रमुखहरूले श्रमजीवी पत्रकारको सुरक्षाका लागि बीमा व्यवस्था सुनिश्चित गर्नुपर्ने तथा अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण प्रक्रियालाई थप सहज बनाउनुपर्ने सुझाव दिएका थिए।
मन्त्रालयअन्तर्गत विषयगत समितिको पहिलो औपचारिक बैठकको प्रारम्भमा ‘विषयगत समितिको बैठक तथा निर्णयसम्बन्धी कार्यविधि, २०८३’ पारित गरिएको थियो।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







