एलपीएल २०२६ मा तीन नेपाली खेलाडी छनोट, नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा थप अवसर



काठमाडौँ, २० जेठ । लंका प्रिमियर लिग (एलपीएल) सिजन ६ मा तीन नेपाली क्रिकेट खेलाडी छनोट भएका छन्। विभिन्न फ्रेन्चाइज टोलीले २०२६ संस्करणका लागि नेपाली खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेका हुन्।

अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई एससी जाफना किंग्सले एसोसिएट स्टारका रूपमा अनुबन्ध गरेको छ। उत्कृष्ट ब्याटिङ, प्रभावकारी बलिङ तथा सशक्त फिल्डिङ क्षमताका कारण ऐरी टोलीका महत्वपूर्ण खेलाडीमध्ये एक रहने अपेक्षा गरिएको छ।

एससी जाफना किंग्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि टोलीमा आबद्ध गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट तथा विभिन्न फ्रेन्चाइज लिगमा प्राप्त अनुभवले जाफनाको बलिङ आक्रमणलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, कोलम्बो क्याप्सले नेपाली टोलीका ओपनर कुशल भुर्तेललाई एसोसिएट स्टारका रूपमा छनोट गरेको छ। आक्रामक ब्याटिङ शैली र अन्तर्राष्ट्रिय अनुभवका कारण भुर्तेलले शीर्षक्रममा टोलीलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ।

दुई फरक फ्रेन्चाइजमा तीन नेपाली खेलाडीको छनोटले नेपाली क्रिकेट प्रतिभाप्रति बढ्दो अन्तर्राष्ट्रिय सम्मानलाई उजागर गरेको छ। साथै, एसोसिएट राष्ट्रका खेलाडीहरूलाई अवसर दिने एलपीएलको प्रयासलाई पनि यसले थप बल पुर्‍याएको छ।

आईपीजीका संस्थापक तथा अध्यक्ष अनिल मोहनले नेपाली क्रिकेट समर्थकहरू अत्यन्त उत्साही रहेको उल्लेख गर्दै एलपीएलमा नेपाली खेलाडीको सहभागिताले नेपाली बजारसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने बताए। उनले खेलाडीहरूको छनोटले एलपीएललाई प्रतिस्पर्धात्मक तथा क्षेत्रीय रूपमा अझ सान्दर्भिक टी–२० प्रतियोगिताका रूपमा विकास गर्ने उद्देश्यलाई सघाउने धारणा व्यक्त गरे।

एलपीएल सिजन ६ मा नेपाली खेलाडीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। उनीहरूको सहभागिताले प्रतियोगिताप्रति नेपाली क्रिकेट समर्थकहरूको चासो र आकर्षण समेत बढाउने अनुमान गरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार