सभामुख अर्यालले भने- जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि संघीय संसद् पूर्ण प्रतिबद्ध छ
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि संघीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दलित समुदायको सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरेसम्म नेपाली समाज न्यायपूर्ण हुन नसक्ने सभामुख अर्यालको भनाइ छ ।
उनले भने- ‘हाम्रो दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता छ । यो सुनिश्चितता बिना नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन सक्दैन।’
सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने बताएका छन् ।
उनले थप भने- ‘प्रतिनिधि सभाको सभामुखको हैसियतले म संघीय संसदको तर्फबाट स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी दलित समुदायले भोग्दै आएका समस्या, पीडा र चुनौतीहरूप्रति पूर्ण रूपमा सचेत छौँ । यी समस्याको गम्भीरतालाई महशुस गर्दै संसद यसको समाधानका लागि प्रतिबद्ध छ ।’
साथै उनले जातीय विभेद र छुवाछुतको अन्त्य केवल सरकार, कुनै एक सरकारी निकायको जिम्मेवारी मात्र नभई सिंगो नेपाली समाजको साझा दायित्व भएको बताएका छन् ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार
















