विपद्जन्य घटनामा पाँच जनाको मृत्यु, ११ जना घाइते



काठमाडौँ, २० जेठ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएका विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा भएका घटनामा पाँच जनाको ज्यान गएको हो।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विभिन्न विपद्जन्य घटनामा ११ जना घाइते भएका छन्।

रौतहट, बारा र कपिलवस्तुमा सर्पदंशका कारण एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। यस्तै, रोल्पाको गङ्गादेव गाउँपालिका–रातमाटामा खहरे भेलले बगाउँदा दुई बालकको ज्यान गएको प्राधिकरणले जनाएको छ।

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशभर २५ वटा विपद्जन्य घटना भएका छन्। ती घटनाबाट ६३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्