परराष्ट्रमन्त्री खनाल तीनदिने भारत भ्रमणमा जाँदै



काठमाडौँ, २० जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन्।

भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा सहयोग तथा जनस्तरका सम्बन्धलगायत विभिन्न विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्