मधेस र लुम्बिनीका तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, २१ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम तातो लहरको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गर्दै बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसैगरी कञ्चनपुर, कैलाली, नवलपरासी, चितवन, सुनसरी, मोरङ र झापाका बासिन्दालाई मौसमसम्बन्धी अद्यावधिक जानकारी लिँदै सचेत रहन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यसैगरी शनिबार कोशी प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रमा अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्