अध्ययन बिदा लिएर नफर्किएका त्रिवि प्राध्यापकबाट १० करोडभन्दा बढी रकम असुली



काठमाडौँ, २१ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारी अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ फिर्ता भएको जानकारी दिएका छन्।

मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट रकम असुलीको प्रक्रिया तीव्र बनेको उनले उल्लेख गरेका छन्। उनका अनुसार थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेका छन्।

मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको बताए। सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त अवसरको उपयोगपछि सेवामा नफर्कने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा नैतिक क्षति पुर्‍याएको उनको भनाइ छ।

मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्न त्रिविलाई प्रोत्साहित गरेपछि छानबिन तथा कानुनी प्रक्रियाका आधारमा रकम फिर्ता हुने क्रम बढेको उनले बताए।

उनका अनुसार यो उपलब्धि आर्थिक रकम असुलीमा मात्र सीमित नभई सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने तथा उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदम हो।

त्रिविका अनुसार हालसम्म अध्ययन बिदा लिएर नफर्किएका ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। १९१ जना प्राध्यापकमध्ये ६२ जनाले रकम फिर्ताका लागि निवेदन दिएका छन् भने ५४ जनालाई समितिले पत्राचार गरिसकेको छ। यससम्बन्धी ११ वटा मुद्दा प्रक्रियामा रहेका छन् भने ६४ वटा प्रकरण अध्ययनकै क्रममा छन्।

त्रिविका अनुसार अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयलाई दुई अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुगेको अनुमान गरिएको छ। विश्वविद्यालयको नियमअनुसार अध्ययन बिदा उपभोग गरेका शिक्षकले अध्ययन पूरा गरेपछि निश्चित अवधि विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था छ।

यस विषयमा समाचार सार्वजनिक भएपछि त्रिविले डा. काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिका सदस्यमा कृष्णहरि आचार्य र दीपक तिवारी रहेका छन्।

समितिको प्रतिवेदनअनुसार अध्ययन बिदा लिएर नफर्किएका १९१ जना तथा बिदा लिएर अध्ययन पूरा नगरेका २०७ जना गरी कुल ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ।

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदनका आधारमा विश्वविद्यालयले सम्बन्धित प्राध्यापकबाट रकम असुली तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्