जोशीको स्वरमा ‘नेपालकी छोरी’ गीत सार्वजनिक
काठमाडौँ, २१ जेठ । शास्त्रीय सङ्गीतमा विगत दुई दशकदेखि सक्रिय गायिका तेजवती जोशीको स्वर रहेको ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
कुमार मिश्रको शब्द र टेकेन्द्र नेपालीको सङ्गीत रहेको गीतको भिडियोमा अभिनेत्री गीता ढुङ्गानाको अभिनय रहेको छ। भिडियोमा देशप्रेम, अग्रजप्रति आदर, अनुजप्रति स्नेहभाव तथा सकारात्मक सोचलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।
गीतमार्फत नेपाली छोरीको स्वाभिमान, पहिचान र सामाजिक भूमिकालाई कलात्मक रूपमा अभिव्यक्त गरिएको गीतकार तथा गायिकाले बताएका छन्।
गीतको भिडियो योगेन्द्र राजकर्णीकारको निर्माणमा तयार भएको हो। रिदम कँडेलले सङ्गीत संयोजन तथा साजन शाहले ध्वनि मिश्रण गरेका छन्। भिडियोको निर्देशन जिबी आग्रीले गरेका हुन्।
थम्मन टाडीको नृत्य निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहाल र सम्पादन सिलन लम्सालले गरेका छन्। भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
गायिका जोशी र सङ्गीतकार टेकेन्द्र नेपालीले यसअघि ‘चुम्बक’ र ‘हजार जुनी’सहित चार गीतमा सहकार्य गरिसकेका छन्। गायिका जोशीले नेपाली तथा नेपाल भाषाका विभिन्न गीतमा आफ्नो स्वर दिँदै आएकी छन्।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार
















