दश सङ्कल्पसहित नयाँ पुस्तासँग अन्तरसंवाद गर्ने एमालेको निर्णय



काठमाडौँ, २१ जेठ । नेकपा (एमाले) ले दश सङ्कल्प प्रस्ताव जारी गर्दै नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

काठमाडौँमा बुधबार र बिहीबार आयोजित राष्ट्रिय कार्यशालापछि एमालेले सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार तथा डिजिटल रूपान्तरणलाई केन्द्रमा राखेर दश सङ्कल्प सार्वजनिक गरेको हो।

एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पार्टीको सङ्गठित सदस्यता अनलाइनमार्फत नवीकरण गर्ने कार्य सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा सम्पन्न गरिनेछ।

कार्यशालाले प्रत्येक सङ्गठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने, निष्क्रिय मतदातालाई पुनः सक्रिय बनाउने तथा ‘ठिक समय एमाले समय’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने सङ्कल्प गरेको छ।

त्यस्तै, विज्ञान तथा प्रविधिको उपयोग र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउने तथा सदस्यता नवीकरण अभियानलाई पूर्णता दिने निर्णय गरिएको छ।

एमालेले आफ्ना समुदायका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सङ्गठन निर्माण गर्दै केन्द्रदेखि आधार तहसम्मको सङ्गठनात्मक पुनर्संरचनाका लागि आवश्यक समन्वय गर्ने जनाएको छ।

नयाँ पुस्तासँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले पार्टीसँग आबद्ध परिवारका छोराछोरीलाई लक्षित गरी सबै कमिटीले अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, केन्द्रीय सम्पर्क समन्वय समिति तथा मातहतका संरचनालाई प्रभावकारी रूपमा परिचालन गर्दै उपत्यका र विभिन्न भूगोलमा पार्टी गतिविधि सशक्त बनाउने रणनीति तय गरिएको छ।

प्रवासमा रहेका नेपाली युवासँग सम्बन्ध विस्तार गर्न अनलाइन तथा सामाजिक सञ्जालका माध्यम प्रयोग गर्ने, स्थानीय कमिटीमार्फत प्रवासी युवाको सञ्जाल निर्माण गर्ने तथा उनीहरूको अनुभव र विज्ञताको उपयोग गर्ने नीति पनि एमालेले अघि सारेको छ।

पार्टीले यी सङ्कल्पमार्फत सङ्गठन विस्तार, डिजिटल सुदृढीकरण, युवा सहभागिता र प्रवासी नेपालीसँगको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्