अभिनेत्री स्वस्तिमा खड्का लिभोनको नयाँ ब्रान्ड एम्बासडर नियुक्त
काठमाडौँ, २१ जेठ । मेरिको लिमिटेडअन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
स्वाभाविक आकर्षण, आत्मविश्वास र युवा पुस्तामाझको लोकप्रियताका कारण स्वस्तिमा लिभोनको ब्रान्ड पहिचानसँग मेल खाने व्यक्तित्वका रूपमा चयन गरिएको कम्पनीले जनाएको छ। उनी अब लिभोनको नयाँ टेलिभिजन विज्ञापन (टिभिसी) मार्फत ब्रान्डको सन्देश र ऊर्जा प्रस्तुत गर्दै देखिनेछिन्।
लिभोनको नयाँ अवधारणा ‘LIVON IT’ मा आधारित विज्ञापनले काम, यात्रा र सामाजिक जीवनमा सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई केन्द्रमा राखेको छ। अभियानले आत्मविश्वासका साथ अघि बढ्ने महिलाहरूको ऊर्जा, उत्साह र सकारात्मक सोचलाई उजागर गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
विज्ञापनमा युवा पुस्तामाझ लोकप्रिय गायिका जेनी योञ्जनको स्वर समावेश गरिएको छ, जसले अभियानलाई थप जीवन्त बनाएको छ।
लिभोनले लामो समयदेखि महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा उनीहरूलाई आफ्नै शैली र व्यक्तित्वमा गर्व गर्न प्रेरित गर्ने सन्देश प्रवाह गर्दै आएको छ। कम्पनीका अनुसार स्वस्तिमाले पर्दामा मात्र नभई आफ्नो जीवनशैलीमार्फत पनि उक्त सन्देशलाई प्रतिनिधित्व गर्नेछिन्।
कम्पनीले स्वस्तिमाको सहज र स्वाभाविक व्यक्तित्वले राम्रो कपाललाई सौन्दर्यसँग मात्र नभई आत्मविश्वास र आत्मअभिव्यक्तिसँग जोड्ने ब्रान्डको दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।
लिभोनका अनुसार यो सहकार्यले नेपालमा ब्रान्डको नयाँ अध्यायको सुरुवात गरेको छ। स्वस्तिमा खड्का ब्रान्ड एम्बासडरका रूपमा आबद्ध भएसँगै देशभरका उपभोक्तासँगको सम्बन्ध अझ सुदृढ हुने र महिलाहरूलाई आत्मविश्वासका साथ आफ्नो व्यक्तित्व प्रस्तुत गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार
















