लामो समयदेखि सम्पर्कविहीन निजामती कर्मचारीको खोजी गर्दै सरकार
काठमाडौं । सरकार सम्पर्कविहीन तथा अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारी खोजी कार्यमा जुटेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिदा अवधि सकिएपछि पनि कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि सम्पर्कविहीन रहेका तथा राष्ट्रिय किताबखाना ९निजामती० मा व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नभएको भन्दै सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गराउन भनेको छ ।
यसैगरी सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए-नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले उक्त तीनदिन भित्र कार्यालय सम्पर्कमा नआएमा कर्मचारीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार
















