यु–१९ महिला क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकीको विजयी सुरुवात



काठमाडौँ, २२ जेठ । यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली कर्णाली, कोशी र बागमती प्रदेश पराजित भएका हुन्।

कालिन्चोक क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले कर्णालीलाई ५४ रनले पराजित गर्‍यो। लुम्बिनीले दिएको १४५ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा सीमित भयो।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनले हरायो। सुदूरपश्चिमले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको कोशी ६१ रनमै समेटियो।

यस्तै, शुक्रबारको अन्तिम खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो। बागमतीले दिएको ९६ रनको लक्ष्य गण्डकीले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी छन्। सिङ्गल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीबीच असार १ गते फाइनल खेल हुनेछ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्