पर्सामा वन अतिक्रमण हटाउने अभियान प्रभावकारी बन्न नसक्दा चुनौती



वीरगञ्ज, २२ जेठ । पर्सामा झण्डै तीन हजार हेक्टर वन क्षेत्रको अतिक्रमण हटाउने अभियान सुरु गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा चुनौती थपिँदै गएको छ।

जिल्ला वन कार्यालय पर्साअन्तर्गतका सब डिभिजन वन कार्यालय मनवा, बडनिहार, सबैया तथा विन्ध्यवासिनी–कोइलाभार साझेदारी वनले विभिन्न समयमा सूचना जारी गर्दै अतिक्रमण हटाउने अभियान सञ्चालन गरेका छन्। केही क्षेत्रमा वन क्षेत्र खाली गराउने काम भए पनि अन्य स्थानमा अभियान अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

सब डिभिजन वन कार्यालय बडनिहार, मनवा तथा विन्ध्यवासिनी–कोइलाभार साझेदारी वनले संयुक्त रूपमा अतिक्रमित वन क्षेत्र खाली गराउने अभियान सञ्चालन गरिरहेका छन्। सब डिभिजन वन कार्यालय मनवाका अनुसार यसको कार्यक्षेत्रभित्र करिब ३५० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। सखुवनिया, नयाँ बस्ती र टाँडीटोललगायत क्षेत्रमा रहेको करिब ११३ हेक्टर अतिक्रमित वन क्षेत्र हालसम्म खाली गराइसकिएको कार्यालयले जनाएको छ।

यता, सब डिभिजन वन कार्यालय बडनिहारको कार्यक्षेत्रभित्र करिब १२ हेक्टर वन क्षेत्र अतिक्रमणमा रहेको छ। तीमध्ये अधिकांश स्थानमा पक्की घर निर्माण भइसकेकाले अतिक्रमण हटाउने कार्य जटिल बनेको बताइएको छ।

वन कार्यालयका अनुसार अतिक्रमित क्षेत्रमा निर्माण गरिएका संरचनाको लागत विवरण सङ्कलन गरी सम्बन्धित निकायमा पठाइसकिएको छ। अतिक्रमणकारीलाई सूचना जारी गरिसकिएको र माथिल्लो निकायबाट निर्देशन प्राप्त भएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सब डिभिजन वन कार्यालय बडनिहारका अधिकृत उज्ज्वल यादवले बताए।

सबैया क्षेत्रमा करिब ९० हेक्टर वन क्षेत्र अतिक्रमण गरी खेतीपाती तथा आवासका रूपमा प्रयोग भइरहेको छ। तर हालसम्म उक्त क्षेत्र पूर्ण रूपमा खाली गराउन नसकिएको जनाइएको छ।

विन्ध्यवासिनी–कोइलाभार साझेदारी वनका अध्यक्ष भोपाल रोकायले अतिक्रमण हटाउन सूचना जारी गरिए पनि केही प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण प्रक्रिया तत्काल अघि बढ्न नसकेको बताए।

वन क्षेत्र संरक्षण र अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन भइरहे पनि प्रभावकारी कार्यान्वयनको अभावमा लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न कठिनाइ भइरहेको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्