गृह मन्त्रालयद्वारा १८ सहसचिवको सरुवा तथा पदस्थापना



काठमाडौँ, २२ जेठ । गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र छ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालय वा मातहतका निकायमा कार्यरत सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ भने कार्यअवधि पूरा गरेका अधिकारीलाई अन्यत्र सरुवा गरिएको छ।

मन्त्रालयले सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापना गरेको छ।

त्यसैगरी, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेलाई पाल्पा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व), रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई सप्तरी, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई धनकुटा तथा सङ्खुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ।

यस्तै, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई सर्लाही, पाल्पाकी प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यलाई रामेछाप, उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई सुर्खेत तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको बताउनुभयो। उहाँका अनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालय वा मातहतका निकायमा सरुवा भई आएका सहसचिवलाई जिम्मेवारी दिन, रिक्त जिल्लामा पदपूर्ति गर्न तथा अवधि पूरा गरेका प्रमुख जिल्ला अधिकारीको व्यवस्थापन गर्न सरुवा गरिएको हो।

यसैगरी, मन्त्रालयले सहसचिव बलराम निरौलालाई अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा पदस्थापना गरेको छ। सहसचिव प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्