एसियन गेम्स क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल र ओमान भिड्ने



काठमाडौँ, २२ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

शुक्रबार हङकङसँग फराकिलो अन्तरले पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको ओमानले आइतबार हुने पहिलो सेमिफाइनलमा नेपालको सामना गर्नेछ। नेपाल र ओमानबीचको खेल आइतबार बिहान ७ः१५ बजे सुरु हुनेछ।

नेपाल भने समूह चरणमा अपराजित रहँदै समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालले समूह चरणमा चीन र मलेसियाविरुद्ध प्रभावशाली जित दर्ता गरेको थियो।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया आमनेसामने हुनेछन्।

नेपाल, ओमान, हङकङ र मलेसिया यसअघि नै आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भइसकेका छन्।

एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा आयोजक जापानले यसअघि नै स्थान सुरक्षित गरिसकेका छन्।

अब सेमिफाइनलमा जित निकाल्ने लक्ष्यसहित नेपाल उपाधिनजिक पुग्ने प्रयासमा रहनेछ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्