कानुन समाधानको माध्यम हो, अवरोधको होइन : मन्त्री गौतम



काठमाडौँ २२ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुनले विकास र सुशासनमा अवरोध सिर्जना गर्छ भन्ने स्थापित भाष्यलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको दोस्रो कानुन अधिकृत सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले कानुनले अड्काउने होइन, समाधान दिने माध्यमका रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले न्याय सेवाअन्तर्गतको कानुन समूह र कानुन मन्त्रालय राज्य सञ्चालनको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै कुनै पनि नीतिगत निर्णय, सुधार वा समस्या समाधानका लागि कानुनी परामर्श अपरिहार्य हुने बताउनुभयो ।

“कहिलेकाहीँ नेताहरूबाट ‘सबै कुरा कानुनमै अड्किन्छ’ भन्ने अभिव्यक्ति सुनिन्छ,” मन्त्री गौतमले भन्नुभयो, “अब यो भाष्यलाई चिर्दै कानुनले समस्या सिर्जना गर्ने होइन, समाधान प्रदान गर्ने आधार हो भन्ने मान्यता स्थापित गर्न आवश्यक छ ।”

मन्त्री गौतमले कानुनलाई नागरिकमैत्री र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले सेवा सहजीकरणका विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो । साथै, नागरिकलाई कानुनबारे जानकारी दिने र नयाँ कानुन निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने दिशामा सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।

उहाँले कानुनी शासन, सुशासन र नागरिक अधिकारको संरक्षणका लागि कानुन अधिकृतहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्मेलनले कानुनी क्षेत्रको सुधार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्