परराष्ट्रमन्त्री खनाल भारत भ्रमणका लागि नयाँदिल्ली पुगे



काठमाडौँ, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी डा. जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नेछन् । साथै, उनले अन्य उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि शुक्रबार पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किँदै छन् ।

भारत भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस. जयशङ्कर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेतासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्