सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ : सभापति लामिछाने



काठमाडौँ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् ।

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमा समस्या हल्ला वा सार्वजनिक बहसबाट नभई उपयुक्त समय र प्रक्रियाअनुसार कूटनीतिक माध्यमबाट समाधान गरिने बताए । भारत पनि यस विषयमा संवादमार्फत समाधान खोज्न सकारात्मक रहेको उनको भनाइ थियो ।

“दुई देशबीचका यस्ता विषय कूटनीतिक च्यानलमार्फत समाधान गर्नुपर्छ । ढोल बजाएर होइन, आवश्यक ठाउँ र समयमा चरणबद्ध रूपमा कुरा उठाउनुपर्छ,” उनले भने, “सीमाको विषय सडक र सदनको बहसभन्दा माथि उठेर कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।”

लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको र त्यही नै सरकारको आधिकारिक धारणा रहेको बताए ।

उनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए । दुवै नेता नेपाल भ्रमणका लागि सकारात्मक रहेको उल्लेख गर्दै उनले समय मिल्नेबित्तिकै भ्रमण हुन सक्ने बताए ।

“मैले भारतीय जनता पार्टीका अध्यक्ष र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । दुवै जना सकारात्मक हुनुहुन्छ । अब दुवैतर्फको समय मिल्यो भने भ्रमण हुन्छ,” उनले भने ।

भारतमा रहेका नेपाली नागरिकका समस्याबारे बोल्दै लामिछानेले नेपाली दूतावास तथा सम्बन्धित सरकारी संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । स्वास्थ्योपचार, कागजी प्रक्रिया र दैनिक जीवनसँग सम्बन्धित समस्याको समाधानका लागि संयन्त्रको क्षमता अभिवृद्धि आवश्यक रहेको उनले बताए ।

उनका अनुसार सरकार गठन भएको धेरै समय नभएकाले सबै समस्या तत्काल समाधान हुन नसके पनि नागरिकका गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाउने प्रयास भइरहेको छ । प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि प्रभावकारी र उत्तरदायी संयन्त्र आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्