औषधी अभाव हुन नदिन मन्त्री मेहताको निर्देशन
काठमाडौँ, २३ जेठ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा अभाव देखिएका औषधीको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
औषधी व्यवस्था विभागको अनुगमनपछि मन्त्री मेहताले क्यान्सरलगायत अत्यावश्यक औषधीको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
उहाँले औषधी आपूर्ति तथा वितरणको अनुमतिका लागि निवेदन दिएका तर अनुमति नपाएका कम्पनीहरूको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभयो ।
मन्त्री मेहताले विभागको नियमन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै विभागलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण तत्काल पेस गर्न आग्रह गर्नुभयो ।
उहाँले सरकारबाट निःशुल्क वितरण गरिने तथा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधीको गुणस्तर परीक्षणलाई प्राथमिकता दिन आवश्यक व्यवस्थापन गर्न पनि सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा औषधी व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले विभागका गतिविधि तथा कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार
















