पोखरा बसपार्क क्षेत्रका सुकुम्वासीले आफैँ हटाउन थाले घरटहरा
लेखनाथ, २३ जेठ । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क क्षेत्रका सुकुम्वासीले आफ्ना घरटहरा आफैँ हटाउन थालेका छन्। महानगरपालिकाले स्वेच्छिक रूपमा घरटहरा हटाउन दिएको म्याद आइतबार सकिने भएपछि शनिबारसम्म ५० भन्दा बढी परिवारले आफ्ना संरचना भत्काइसकेका छन्।
पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणका लागि पाँच दशकअघि अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये हाल करिब २६ रोपनी मात्र खाली रहेको छ। बाँकी क्षेत्र सुकुमवासी बस्ती, सट्टाभर्ना तथा अन्य प्रयोजनमा प्रयोग हुँदै आएको छ।
बसपार्क क्षेत्र खाली गराउने तयारीअन्तर्गत पोखरा महानगरपालिकाले गठन गरेको जग्गा खोजी समितिले सुकुमवासी व्यवस्थापनका लागि महानगरभित्रका विभिन्न स्थानका जग्गा उपयोग गर्न सकिने सिफारिस गरेको छ। समितिले पोखरा–११ रामघाटस्थित पुन समाजले उपयोग गर्दै आएको ४६ रोपनी पर्ती जग्गा, वडा नम्बर १४ को बाच्छेबुडुवा क्षेत्र, भेडीफार्म, पोखरा–१५ मजुवा, वडा नम्बर २१ दोबिल्ला र वडा नम्बर २५ हेमजाका जग्गा व्यवस्थापनका लागि उपयुक्त हुने सुझाव दिएको छ।
महानगरले बसपार्क तथा फिर्के कोरिडोर क्षेत्रका करिब ६ सय परिवारलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई पुनःस्थापना गरिने भए पनि अव्यवस्थित बसोवासीलाई हटाइने योजना रहेको महानगरले जनाएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकको अधिकारको सम्मान दुवै सरकारको दायित्व भएको बताउनुभयो। उहाँले प्रभावित परिवारलाई उचित व्यवस्थापन गरिने स्पष्ट पार्दै वैकल्पिक स्थानमा आवश्यक पूर्वाधार र सुविधासहित नयाँ बस्ती निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।
“सरकारले बिनासूचना हटायो वा जबरजस्ती गर्यो भन्ने भ्रम नफैलाऔँ,” प्रमुख आचार्यले भन्नुभयो, “हामीले पर्याप्त समय र सूचना दिइसकेका छौँ। बहाना नबनाऔँ, बसपार्क बनाऔँ।”
उहाँले बसपार्कको जग्गा बेचबिखनसम्बन्धी विषयमा न्यायिक छानबिनपछि आवश्यक निर्णय गरिने बताउँदै कानुनी तथा अन्य माध्यमबाट विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गर्नुभयो।
सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग जोडिने पृथ्वीचोकमा २०३२ सालदेखि सुरु भएको बसपार्क निर्माण अभियान पाँच दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। हाल उक्त क्षेत्रमा ५७५ सुकुमवासी परिवारका टहरा रहेका छन्।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार
















