नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २३ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भारतीय सञ्चारमाध्यम ‘एनडिटिभी’सँगको विशेष संवादमा मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षमै जनसमर्थनका आधारमा सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
नेपाल र भारतबीच खुला सीमा रहे पनि दुवै मुलुकले एकअर्काको सुरक्षा चासोलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र जनस्तरका सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
मौरिससमा आयोजित एक कार्यक्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भएको भेटवार्ताको स्मरण गर्दै मन्त्री खनालले सम्भव भएका सबै क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा सम्पर्क सञ्जालका क्षेत्रमा भारतको सहयोग, लगानी र साझेदारीको अपेक्षा रहेको बताउनुभयो ।
बङ्गलादेशमा नेपालको विद्युत् निर्यातका लागि भारतको सहयोग रहने विश्वास व्यक्त गर्दै मन्त्री खनालले विगतका विषयभन्दा भविष्यका अवसरमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
“हामी विगतका विषय लिएर आएका छैनौँ । दुई ठूला छिमेकी मुलुकसँगको सम्बन्धबाट प्राप्त गर्न सकिने विकासका अवसरको पूर्ण उपयोग गर्न सकेका थिएनौँ,” उहाँले भन्नुभयो, “अब पारस्परिक लाभ र सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्धलाई प्रभावकारी रूपमा उपयोग गर्दै नयाँ सहकार्यका क्षेत्र पहिचान गर्नेछौँ ।”
मन्त्री खनालले रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र भारत सरकारबाट भएको स्वागतले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो ।
उहाँले नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा निकट भविष्यमै ठोस सहकार्यका लागि सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार
















