जिल्ला अधिवेशनअघि रवि लामिछानेको आह्वान : ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आयो



काठमाडौँ, २३ जेठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पणका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ।

पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पछिल्लो जनमतलाई अझ विस्तार गर्न तथा राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउन सबै नेता–कार्यकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले अहिले ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने समय आएको उल्लेख गर्नुभएको छ।

सभापति लामिछानेले अधिवेशन र महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ लोकतान्त्रिक परम्परा निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। पार्टीको हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ।

उहाँले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व चयन गरिनु नै पार्टीको संस्कार भएको उल्लेख गर्दै यस्ता प्रक्रियाले पार्टीलाई अझ बलियो र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभयो।

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उहाँले बताउनुभयो। चार वर्षको छोटो अवधिमै यस्तो प्रवृत्ति देखिनु चिन्ताको विषय भएको उल्लेख गर्दै समयमै त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो।

“पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,” उहाँले बताउनुभयो।

मतदाताको विवेक र पार्टी सदस्यहरूको समर्पणकै कारण पार्टीले आजको सफलता हासिल गरेको उल्लेख गर्दै सभापति लामिछानेले पुरानो पुस्ताले तयार पारेको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीलाई यहाँसम्म ल्याएको बताउनुभयो।

रास्वपाले पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसकेको छ। पार्टीका अनुसार आज ३७ जिल्लामा र भोलि २९ जिल्लामा जिल्ला अधिवेशन हुँदैछन्।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्