बिम्स्टेक क्षेत्रीय सहकार्यको गतिशील मञ्च : प्रधानमन्त्री शाह
काठमाडौँ, २३ जेठ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहकार्यको गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ।
बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी सन्देशमा उहाँले यातायात, व्यापार तथा डिजिटल सञ्जालमार्फत सम्पर्क सुदृढ गर्दै सदस्य राष्ट्रबीच आर्थिक एकीकरणलाई थप गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रधानमन्त्री शाहले बिम्स्टेकको वास्तविक शक्ति यस क्षेत्रका जनतामा निहित रहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमीका लागि अवसर सिर्जना, साथै जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धि गर्न थप प्रयास आवश्यक रहेको बताउनुभयो।
परराष्ट्र मन्त्रालयमार्फत जारी सन्देशमा उहाँले एकआपसमा जोडिएको, उत्थानशील र समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूसँग नेपालले नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।
यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले छुट्टै सन्देश जारी गर्दै सन् १९९७ मा स्थापना भएदेखि बिम्स्टेकले हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्नुभएको छ। उहाँले क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन बिम्स्टेक चार्टरको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै हासिल उपलब्धिलाई थप सुदृढ गर्दै साझेदारी र कार्यान्वयन क्षमतालाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
परराष्ट्रमन्त्री खनालले बिम्स्टेकप्रतिको नेपालको प्रतिबद्धता पुनः व्यक्त गर्दै जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्बन्ध विस्तार गर्न सक्रिय रहने बताउनुभयो।
बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनालले सदस्य राष्ट्रका सरकार तथा जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ।
सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत स्थापना भएको बिम्स्टेक प्रारम्भमा बिस्ट–इक (बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड आर्थिक सहयोग) का रूपमा परिचित थियो। पछि म्यानमार, भुटान र नेपालको सदस्यतासँगै यो बिम्स्टेकका रूपमा विकसित भएको हो। हाल यस सङ्गठनमा सात सदस्य राष्ट्र आबद्ध छन्।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार
















